Harsamaya
प्रहरीमाथि पेस्तोल ताकेपछि दुई भारतीयमाथि गोली, ५०० ग्राम हेरोइन बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागूऔषध नियन्त्रण ब्यूरोले ५०० ग्राम खैरो हेरोइन र पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली नागरिक छन् ।

ब्यूरोका अनुसार भारतमा बसेर नेपालमा लागूऔषध आपूर्ति गर्दै आएको गिरोहको निगरानी गर्ने क्रममा उनीहरूलाई बिहीबार मोरङको रतुवामाई नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

भारतको अररियाबाट रतुवामाईतर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले पेस्तोल निकालेर प्रहरीमाथि ताकेका थिए ।

प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गर्दा पनि पेस्तोल ताक्न नछाडेपछि दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली प्रहार गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीले उनीहरूसहित मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

खानतलासीका क्रममा दीपकको साथबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र त्यसको एक राउन्ड गोली बरामद भएको छ । प्रहरीले दुईवटा मोटरसाइकल र तीनवटा मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।

गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ । पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार पक्राउ परेका ठाकुर शारीरिक रूपमा फरक क्षमताका व्यक्ति हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update