काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् ।
७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो अब कुनै निश्चित सीमामा सीमित नरहेकाले नेपाल प्रहरीको क्षमता विस्तार अपरिहार्य भएको बताए ।
गृहमन्त्री गुरुङले वि.स.२०१२ मा प्रहरी ऐन जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस संगठनको वार्षिक उत्सव मात्र नभई ७१ वर्ष लामो सेवा, त्याग र बलिदानको सम्मान भएको बताए । उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सम्पूर्ण अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरे ।
देशमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनमा प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले विपद्का कठिन क्षणमा प्रहरीको समर्पण उच्च रहेको बताए ।
रसुवाको भोटेकोशी, मनाङ, मुस्ताङ तथा बुढीगण्डकीमा आएको भीषण बाढीको स्मरण गर्दै गृहमन्त्रीले आफ्नै सहकर्मीले ज्यान गुमाउँदा र बेपत्ता हुँदा समेत विचलित नभई उद्धारमा खटिने प्रहरी जनशक्तिको धैर्य र समर्पणको सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।
उनले भने, ‘देशमा शान्ति सुरक्षा कायम गर्ने एवं अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी खटिँदै आएको छ । यसका साथै विपद्को समयमा तपाईँहरूले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण छ । गत भदौ १० गतेको रसुवा भोटेकोशी, सो पश्चात् मनाङ, मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगत विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदा समेत विचलित नभई खटिनुभएका तपाईँहरूको धैर्य र समर्पणलाई मैंले उच्च मूल्याङ्कन गरेको छु ।’
अपराधले भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै उनले सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्यलाई तीव्रता दिइएको जानकारी दिए । हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा आफ्ना भारतीय समकक्षीसँगको छलफलमा सूचना आदानप्रदान र आधुनिक प्रविधिको उपयोगमा जोड दिएको उनले बताए । यस्ता क्षेत्रीय संयन्त्रबाट प्राप्त अवसरलाई नेपालको आन्तरिक सुरक्षा सुदृढ बनाउन प्रभावकारी ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

