Harsamaya
भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न राष्ट्रसङ्घको आग्रह
भारतमा निर्वाचन अधिकारीहरूको कथित दुराचारविरुद्ध प्रदर्शनका क्रममा पक्राउ ।

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा निर्वाचन अधिकारीहरूको कथित दुराचारविरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

कार्यालयले शनिबार दिल्लीमा भएका प्रदर्शनअघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, आन्दोलनको नेतृत्व गरेका नेता, नागरिक समाजका सदस्य, वकिल तथा पत्रकारहरूलाई सामूहिक रूपमा हिरासतमा लिइएको खबरप्रति चिन्ता व्यक्त गरेको हो ।कार्यालयले पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गर्नुपर्ने जनाएको छ ।

यसैबीच, भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन् । उनले संविधानको रक्षा र भारतीय जनताको आवाज सुरक्षित राख्न आफूहरूको सङ्घर्ष जारी रहने बताएका छन् । उनले प्रदर्शनरत युवाहरूलाई समर्थन गर्दै आन्दोलन जारी राख्नसमेत आग्रह गरेका छन् ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा प्रदर्शनकारीहरूले दिल्लीस्थित जन्तरमन्तरतर्फ प्रदर्शन गर्न खोजेका थिए ।
दिल्ली प्रहरी स्रोतका अनुसार समाचार तयार पार्दासम्म राजधानीका विभिन्न स्थानबाट करिब एक हजार प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update