काठमाडौं - नाइजेरियाको दक्षिणपश्चिमी ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार भएको दुर्घटनामा विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । विमानमा २५ यात्रु र सात चालक दलका सदस्य सवार थिए।
उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार विमान ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा समुदायको नौसैनिक आधारनजिक दुर्घटनाग्रस्त भएको हो।
नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिए पनि दुर्घटनामा परेको विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको थियो।
राष्ट्रपति टिनुबुले दुर्घटना सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका छन् ।
दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेकोमा राष्ट्रपति टिनुबुले वायुसेनाको प्रशंसा गरेका छन् ।

