Harsamaya
गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी कमजोर : पूर्वमन्त्री बस्नेत
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बनेको बताएका छन्। उनले पार्टी एकढिक्का भएको भए आगामी सङ्घीय र प्रदेश निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेर पनि राम्रो परिणाम ल्याउन सक्ने दाबी गरे।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश अधिवेशनमा बोल्दै बस्नेतले पार्टीभित्र वडा तहदेखि केन्द्रसम्म विवाद र झगडा बढेको बताए। उनले कांग्रेसको आन्तरिक विवादको असर जिल्लामा समेत देखिएको उल्लेख गर्दै पार्टीलाई विभाजित अवस्थाबाट बाहिर निकाल्नुपर्नेमा जोड दिए।

उनले गगन थापाको महत्त्वाकाङ्क्षाका कारण पार्टी दुई चिरामा विभाजित भएको आरोप लगाए। पार्टी एकढिक्का रहेको भए स्थानीय तहमा हासिल गरेको परिणामलाई आधार बनाएर आगामी निर्वाचनमा पनि राम्रो सफलता प्राप्त गर्न सकिने उनको भनाइ थियो।

बस्नेतले सिन्धुपाल्चोकमा कांग्रेसको पुरानो राजनीतिक इतिहास स्मरण गर्दै आफूले २०४८ सालदेखि पार्टीको सदस्यता र सङ्गठन निर्माणमा निरन्तर काम गरेको बताए। सुरुमा जिल्लामा पाँच–छ जना व्यक्तिलाई साथमा लिएर कांग्रेसको सङ्गठन विस्तारमा लागेको उल्लेख गर्दै उनले पार्टीलाई अहिलेको अवस्थामा ल्याउन लामो समयदेखि योगदान गरेको दाबी गरे।

उनले विगतका निर्वाचन र राजनीतिक उतारचढावको चर्चा गर्दै सिन्धुपाल्चोकमा कांग्रेसको सङ्गठन बलियो बनाउन आफूले भूमिका खेलेको बताए। स्थानीय तहको निर्वाचनमा जिल्लामा कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले पार्टीभित्र विभाजन नआएको भए त्यसको प्रभाव आगामी सङ्घीय र प्रदेश निर्वाचनमा पनि देखिने बताए।

बस्नेतले पार्टीभित्र लामो समयदेखि काम गरेका नेता तथा कार्यकर्ताले उचित अवसर पाउनुपर्ने धारणा राखे। नेपाल विद्यार्थी सङ्घको इतिहास बोकेका नेताहरूलाई समेत पार्टीको मूलधारमा समेट्नुपर्ने उल्लेख गर्दै उनले पद पाउनेभन्दा अवसरबाट वञ्चित भएका कार्यकर्ताको सङ्ख्या बढी रहेको बताए।

उनले पार्टीमा योगदान गरेका नेता–कार्यकर्तालाई निरुत्साहित नगरी सङ्गठनमा सक्रिय बनाउने वातावरण आवश्यक रहेको पनि बताए। पछिल्लो समय वडा तहदेखि केन्द्रसम्म देखिएका विवादले पार्टीको एकता र सङ्गठनमा असर पारेको उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update