Harsamaya
'बालेनको स्टाटसलाई गिज्याउने धनगढी-काठमाडौं भाडादर'
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले ‘सुदूर अब दूर नाइ’ भन्दै सामाजिक सञ्जालमा लेखे । चुनावी आमसभामा सुदुरपश्चिम र जनकपुरको खुलेर प्रशंसा गरे । मतदाता आकर्षित गर्न बालेन जहाँ पुगे त्यस स्थानको तारिफ गर्न छुटाएनन् ।

तर दशैंको मुखमा हवाई भाडा दर साँच्चै अत्यासलाग्दो छ । वास्तवमा यतिबेला हवाई भाडाको दृष्टिले सुदूरपश्चिम अझै टाढै रहेको देखाएको छ । काठमाडौं–धनगढीको हवाई भाडा महँगो हुँदा भारतका विभिन्न सहरसम्म पुग्न तुलनात्मक रूपमा सस्तोपर्ने अवस्था छ । यातायात सहज र सुलभ हुनुपर्ने सुदूरपश्चिममा हवाई भाडा नै महँगो भएपछि सर्वसाधारण मारमा परेका छन् ।

दशैं नजिकिएसँगै राजधानी काठमाडौंमा घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । तर, घर जाने तयारीमा रहेका यात्रुका लागि यसपटकको दशैं यात्रा सहजभन्दा पनि महँगो बन्दै गएको छ । सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ ।

विशेषगरी काठमाडौं–धनगढी हवाई यात्राको भाडा महँगो भएपछि सुदूरपश्चिम घर जाने यात्रुहरू अन्योलमा छन् । बसको यात्रा लामो र सडकको अवस्था अनिश्चित रहेको भन्दै कतिपय यात्रुले महँगो भए पनि हवाई टिकट खोजिरहेका छन् । तर, टिकटको मूल्य सुनेपछि कतिपयले हवाई यात्रा नै रद्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

बाजुरा जाने तयारीमा रहेका हिमाल विष्ट काठमाडौं–बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ रहेको बताउँछन तर, सडक बिग्रिएमा तोकिएको समयमा घर पुग्न नसकिने उनको चिन्ता छ । उनले भने,‘बाजुराका लागि काठमाडौंँबाट बस भाडा ५ हजार ६ सय रहेछ । तर बाटो बिग्रियो भने दुई दिनमै पुगिन्छ भन्ने छैन । ड्राइभरले पनि दुई दिनमा पुग्नैपर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन । मलाई भने दुई दिनमै घर पुग्नुपर्ने छ ।’

बाजुरा सदरमुकाम मार्तडीसम्म बस पुगे पनि त्यहाँबाट आफ्नो घरसम्म थप दुई दिन हिँड्नुपर्ने भएकाले आफूलाई झनै समस्या भएको विष्ट बताउँछन त्यसैले उनले धनगढीसम्मको हवाई टिकट हेरेका थिए । तर, टिकटको मूल्य करिब २२ हजार ९ सय रुपैयाँ पुगेपछि उनी झनै अन्योलमा परेका छन् । 

‘प्लेनको टिकट धनगढीसम्म २२ हजार ९ सय रहेछ, अति महँगो भयो। जाने कसरी भन्ने दोधारमा छु । घरसम्मै २२ हजारमा पुग्ने भए त ठीक थियो, त्यो भाडा धनगढीसम्मको मात्रै हो,’ उनले भने । 

यस्तै, प्रदीप कार्कीका लागि भने यसपटकको यात्रा रोजाइभन्दा पनि बाध्यता बनेको छ । घरमा बुवा बिरामी रहेकाले जतिसक्दो छिटो घर पुग्नुपर्ने अवस्था भए पनि हवाई टिकटको महँगो मूल्यले उनलाई समस्या परेको छ ।

‘बाध्यताले भए पनि जानै पर्नेछ । घरमा बुवा बिरामी हुनुहुन्छ, मलाई छिटो पुग्नु थियो । प्लेन टिकट साह्रै महँगो रहेछ, उनले भने ।

उनले आफूजस्तै बाध्यतामा रहेका यात्रुका लागि दशैंको समयमा यातायात सहज र पहुँचयोग्य बनाउनुपर्ने बताए । अर्की यात्रु गरिमा शाहाले पनि घरबाट छिटो आउन दबाब आएपछि हवाई टिकट काट्ने तयारी गरेकी थिइन तर, टिकटको मूल्य महँगो भएपछि उनले आफ्नो टिकट नै रद्द गर्नुपरेको सुनाइन  । 

‘घरबाट छिटो आउनु भन्नुभएको छ । प्लेनको टिकट काटेर छिटो आउँछु भनेकी थिएँ । तर भाडा महँगो भएपछि प्लेनको टिकट नै रद्द गर्नुपर्यो,’ उनले भनिन् । 

दशैंमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका नागरिक घर फर्किनेक्रम बढ्दै गर्दा यातायातको भाडा र यात्राको सहजता अहिले प्रमुख चासो बनेको छ । विशेषगरी सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा जाने यात्रुका लागि सडकको अवस्था, लामो दूरी र सीमित हवाई सेवा मुख्य चुनौती बन्ने गरेको छ ।

यहीबीच, चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई’ लेखेका थिए । उनको उक्त अभिव्यक्ति सुदूरपश्चिम यात्राका क्रममा सार्वजनिक भएको थियो ।

तर अहिले दशैंमा घर फर्किन खोजिरहेका सुदूरपश्चिमका नागरिक भने महँगो यातायात खर्च र लामो यात्राको बाध्यतामा छन् । त्यसैले यात्रुहरूले प्रश्न गर्न थालेका छन् । ‘सुदूर अब दूर नाई’ भन्ने भाव व्यवहारमा पनि कहिले देखिने ?

यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले हवाई भाडा महँगो नभएको दाबी गर्छन । उनले यात्रुहरुलाई कुनै पनि ठाउँबाट नठगिन आग्रह गर्दै बुद्ध एयरको आधिकारिक वेबसाइटमा गएर भाडादर हेरेर मात्र टिकट काट्न अनुरोध गरेका छन् । 

यात्रुहरूले दशैंको समयमा हवाई तथा सडक यातायातको भाडा सहज बनाउन, यात्रुको चापअनुसार पर्याप्त यातायात व्यवस्था गर्न र सडकमार्गको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् । घर फर्किने नागरिकलाई आर्थिक भार नपर्ने गरी यातायात व्यवस्थापन गर्न सके मात्रै दशैंको यात्रा सहज बन्ने उनीहरूको अपेक्षा छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update