कास्की - चाडपर्व तथा पर्यटकीय यामलाई लक्षित गरी पोखरामा प्रहरीले चलाएको निगरानी अभियानका क्रममा पर्यटकलाई दुःख हैरानी दिने १५ जना पक्राउ परेका छन्।
पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक आसपासबाट सार्वजनिक सवारीमा जबर्जस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकका झोला तान्ने छ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका चालक आठ जना र जीप चालक एक जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ।
चाडपर्वमा पर्यटकको आवागमन बढ्ने भएकाले जबर्जस्ती सवारीमा चढाउने, सेवा उपलब्ध गराउने नाममा करकाप गर्ने तथा अन्य अनावश्यक हैरानी दिने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

