Harsamaya
दशक लामो राजनीतिक यात्रापछि कांग्रेस केन्द्रीय सदस्यको दौडमा डा. प्रेमध्वज लामा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामा ।

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। लामो राजनीतिक, शैक्षिक र संगठनात्मक यात्राबाट खारिएका लामा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’सहित पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने अभियानमा छन्।

लामाले नेपाल विद्यार्थी संघमार्फत पाटन क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०४६ सालको जनआन्दोलनमा पाटन क्याम्पसबाट नेतृत्वदायी भूमिकामा सहभागी भए। त्यसपछि नेविसंघ सिन्धुपाल्चोक जिल्ला सचिव हुँदै २०४९ र २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बने।

२०५२ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका लामा दुईपटक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहे। २०५९ सालदेखि निरन्तर कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीका विभिन्न गतिविधिमा सहभागी हुँदै आएका छन्।

राजनीतिसँगै शैक्षिक क्षेत्रमा पनि सक्रिय लामाले २०५९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिसमेत गरेका छन्। २०६३ सालको जनआन्दोलनका क्रममा घाइते भएका लामा आन्दोलन र लोकतान्त्रिक परिवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई राजनीतिक यात्राको महत्वपूर्ण अध्यायका रूपमा लिन्छन्।

सिन्धुपाल्चोकमा सक्रिय र अनुभवी नेताका रूपमा परिचित लामाले कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल अघि बढाउनुपर्नेमा जोड दिएका छन्। पुरानो राजनीतिक संस्कार र अनुभवको सम्मान गर्दै नयाँ सोच तथा परिवर्तनलाई अघि बढाउने संकल्पसहित उनको उम्मेदवारी आएको हो।

दशकौँको संगठनात्मक अनुभव, शैक्षिक पृष्ठभूमि र लोकतान्त्रिक आन्दोलनको अनुभवलाई आधार बनाउँदै डा. लामा यसपटक कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजिरहेका छन्।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update