Harsamaya
सगुनलाई बधाई दिँदै देवेन्द्र खड्काले भने– ‘पराजित भएँ, तर जितेको कांग्रेसकै साथीले हो’
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका प्रत्यासी देवेन्द्र खड्का ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका प्रत्यासी देवेन्द्र खड्काले नवनिर्वाचित सभापति सगुन श्रेष्ठसहित नयाँ नेतृत्वलाई बधाई दिँदै कांग्रेसलाई बलियो बनाउने अभियानमा आफ्नो साथ र सहयोग रहने बताएका छन् ।

क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ ६७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । सभापतिका प्रत्यासी आङदोर्जे शेर्पाले ३९९ र देवेन्द्र खड्काले १८१ मत प्राप्त गरेका थिए ।

निर्वाचन परिणामपछि खड्काले श्रेष्ठसहित कार्यसमिति, प्रदेश कार्यसमिति, प्रदेश प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई बधाई दिँदै नयाँ नेतृत्वले बदलिएको कांग्रेस निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पाएको बताएका छन् ।

‘प्रतिस्पर्धामा पराजित भइयो तर जितेको अरू पार्टीले होइन, कांग्रेसकै साथीले हो,’ खड्काले भनेका छन्, ‘त्यसैले अब नागरिकमा कांग्रेस बदलिएको छ भन्ने सन्देश प्रवाह गर्ने अभियानमा हामी सबै जुटौँ । निर्वाचनमा भएको प्रतिस्पर्धालाई सबैले बिर्सौँ ।’

उनले लोकतान्त्रिक प्रक्रियामा आन्तरिक निर्वाचनबाट आएको हार–जितलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । कांग्रेसको इतिहासले फरक मतलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उनले निर्वाचनको परिणामपछि आग्रह–पूर्वाग्रह राखेर क्षणिक आक्रोश पोख्ने वा निराश हुनेभन्दा समय र परिस्थितिलाई बुझेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘सत्य र निष्ठामा अडिग रहँदा कहिलेकाहीँ एक्लै पनि परिन्छ, कहिले संसारै आफ्नै पक्षमा भएको भ्रम पनि पर्न सक्छ,’ खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

खड्काले आफू २०४८ सालदेखि कांग्रेसको संगठन निर्माणमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन् । बाल कांग्रेसबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा ३५ वर्षसम्म निरन्तर रहेको भन्दै उनले पार्टीबाट आफू कहिल्यै विचलित नभएको बताएका छन् ।

उनले साविक यमुनाडाँडा गाविस इकाईको कोषाध्यक्ष, २०७४ सालको निर्वाचनमा सुनकोशी–४ को वडाध्यक्ष, क्षेत्र नम्बर १ को क्षेत्रीय सचिव, उपसभापति तथा प्रदेश ‘ख’ सभापतिका रूपमा जिम्मेवारी निर्वाह गरेको स्मरण गरेका छन् । पार्टी केन्द्रले दिएको क्षेत्रीय कार्यवाहक सभापतिको जिम्मेवारीसमेत पूरा गरेको उनले बताएका छन् ।

खड्काले निर्वाचन क्षेत्र नम्बर १ का ५४ वडाका क्रियाशील सदस्यतासम्बन्धी काम आफ्नो नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । २०८२ फागुनको आमनिर्वाचनका क्रममा कांग्रेस सभापति तथा उम्मेदवार जंगबहादुर लामाको चुनाव प्रचार समितिको संयोजक बनेर ५४ वटै वडामा पुगेर उम्मेदवारलाई साथ दिएको पनि उनले उल्लेख गरेका छन् ।

त्यसक्रममा आफूलाई पटक–पटक भौतिक आक्रमणको प्रयास भएको दाबी गर्दै खड्काले राजनीतिक यात्रामा कहिलेकाहीँ ‘अभिमन्युजस्तै घेरामा पार्ने प्रयास’ हुन सक्ने बताएका छन् । तर आफ्नो इमान्दारितामा कहिल्यै विचलन नआएको र आगामी दिनमा पनि नआउने उनको भनाइ छ ।

नयाँ नेतृत्वलाई संगठन चलायमान बनाउन, प्रत्येक सदस्यमा ‘कांग्रेस मेरो हो’ भन्ने भावना जगाउन, सदस्यको आत्मसम्मान बढाउन र पार्टीभित्र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न खड्काले आग्रह गरेका छन् ।

‘कुनै पनि सदस्य पार्टीमा आश र त्रासमा रहनु हुँदैन,’ उनले भनेका छन्, ‘राजनीतिक कार्यकर्ता समाजमा उदाहरण बन्न सकेमा मात्र पार्टीको इज्जत बढ्छ र संगठन विस्तारमा सहयोग पुग्छ ।’

आफूले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिनुको उद्देश्य पनि संगठनलाई थप बलियो बनाउनु रहेको उल्लेख गर्दै खड्काले निर्वाचनको परिणामलाई स्वीकार गर्दै अब सबै मिलेर कांग्रेस निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

उनले अन्त्यमा खेतबारीको उदाहरण दिँदै लेखेका छन्, ‘कहिलेकाहीँ खेतबारीमा मेहनत गर्दैमा फल लाग्छ नै भन्ने ग्यारेन्टी हुँदैन । तर मलजल गरेको माटो भविष्यसम्म उर्वर भएर बसेको हुन्छ । त्यो माटोमा अरूले पनि फल फलाउन सक्छ ।’

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update