Harsamaya
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन सुरु हुँदै

काठमाडौं - नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्चमा आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएको हो ।

उनका अनुसार धरहराको भूमिगत पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ ।

त्यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले जानकारी दिए ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा देशभरका साथै जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update