Harsamaya
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशका पहाडी तथा तराई भूभागमा साधारणतया बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

तराईका भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ । राति मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update