काठमाडौं - आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा आजपाको सचिवालय बैठक चलिरहेका बेला नेताकार्यकर्ताले बैठकस्थलमै केक काटेर साहलाई शुभकामना दिएका छन् ।
काठमाडौंको कोटेश्वरमा आजपा सचिवालयको बैठक चलिरहेको समयमा सचिवालय सदस्य बालकृष्ण सापकोटाले आकस्मिक रूपमा केक लिएर बैठकमै जन्मदिन मनाउने कार्यक्रम अघि बढाएका थिए । बैठककै बीचमा केक काट्दै नेताकार्यकर्ताले अध्यक्ष साहलाई जन्मदिनको शुभकामना तथा आगामी दिनका लागि शुभेच्छा व्यक्त गरेका हुन् ।
बैठकमा सहभागी नेताकार्यकर्ताले अध्यक्ष साहको सुस्वास्थ्य, दीर्घायु तथा राजनीतिक यात्राको सफलताको कामना गर्दै शुभकामना आदानप्रदान गरेका थिए । औपचारिक बैठक चलिरहेका बेला अचानक गरिएको जन्मदिनको कार्यक्रमले बैठकस्थलमा केही समय खुसीयालीको वातावरण बनेको थियो ।
केक काटेर जन्मदिन मनाएपछि सचिवालय बैठक पुनः नियमित कार्यसूचीअनुसार अघि बढेको थियो । बैठकमा पार्टीका आगामी राजनीतिक गतिविधि, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल छलफल भएको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् । आइतबार केन्द्रीय कमिटीको बैठक काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
यसैबीच, अध्यक्ष साहको जन्मदिनको अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन् ।

