काठमाडौं - आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंको कोटेश्वरमा बसेको आजपाको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पनि अन्तरिम सरकार र संविधान आवश्यक रहेको बताएका हुन्।
उनले अहिलेको संविधान र सरकार गठनबीच नै संवैधानिक प्रश्न उठेको दाबी गरे। ‘प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन। त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ उनले भने।
साहले पुरानै संवैधानिक व्यवस्थाबाट वर्तमान संकट समाधान गर्न खोज्दा थप जटिलता आउने भन्दै अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्ने बताए।
उनले राजनीतिक, सामाजिक र शासन व्यवस्थासम्बन्धी जेनजी आन्दोलनका मुद्दालाई सम्बोधन नगरी सरकार परिवर्तनबाट मात्रै संकट समाधान नहुने बताए।
आजपाले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठक बोलाएको सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए।

