काठमाडौं - म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल लगाएर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा मापदण्डविपरीत म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति लगाएर बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले असोज १५ गते स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बाराको प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौंको तीनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्साको बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठा घर भई काठमाडौंको तीनथाना बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट म्याद गुज्रिएका तथा मिति उल्लेख नगरिएका खाद्य सामग्रीमा नयाँ मिति र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रयोजनका सामग्री फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट मिति उल्लेख गर्ने मेसिन एक थान, ‘मकवानपुरी राजमा’, ‘अबिर/केशरी’, ‘ब्राजिलियन पपकर्न’, ‘लोकल खरिरो तिल’, ‘ओखर’, ‘केराउ’ लगायत लेखिएका लेबलिङ स्टिकर बरामद गरिएको छ।
त्यस्तै, म्याद गुज्रिएको काजु एक बाल्टी, पेस्ता र एल्मण्ड एक–एक कार्टुन, म्याद गुज्रिएको कालो भटमास चार बोरा, बोरा सिलाउने मेसिन एक थान, म्याद गुज्रिएको मकै दुई बोरा, हरियो केराउ एक बोरा तथा ल्यापटप र प्रिन्टरसमेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

