Harsamaya

रौतहट - रौतहटको बंकुलबाट सशस्त्र प्रहरीले १ करोड ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध अन्तःशुल्क स्टिकर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट सरमजुवा रौतहटबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको हो।

शुक्रबार बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार कार्यालय पछाडिको धानबारीमा सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको टोलीले उक्त स्टिकर बरामद गरेको थियो।

भारतबाट कार्टुनमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए। प्रहरीले कार्टुन खोलेर जाँच गर्दा नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमका मदिराको बोतलमा टाँस्ने स्टिकर फेला पारेको जनाएको छ।

बरामद स्टिकर ५० यूपी १८० मिलिलिटर आकारका मदिराका बोतलमा टाँस्ने रहेको प्रहरीले जनाएको छ।

बरामद स्टिकर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update