विराटनगर - मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
असोज १६ गते राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेमध्ये कुमार नेपाली र सन्देश नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। कुमारको असोज १६ गते राति १२ बजे र सन्देशको असोज १७ गते बिहान १२ः०४ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
घाइते अमर नेपालीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

