नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुने अन्य पाँच जनाको परिचय खुल्न बाँकी रहेको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको थियो।
घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

