काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बिहीबार अपिल जारी गर्दै देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ सुरु हुने अधिवेशन विधि र प्रक्रिया पूरा गरेर सम्पन्न गर्न आग्रह गरेका हुन्।
झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने बताएका छन्।
उनले महाधिवेशनमार्फत पार्टीभित्रका मतभेद समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रणसमेत गरेका छन्।
देउवाले देशभरका नेता तथा कार्यकर्तालाई अधिवेशनमा सक्रिय सहभागिता जनाई सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन्।

