Harsamaya
चार दिनको वर्षामा २१ जनाको मृत्यु, पाँच बेपत्ता र ७४७ परिवार प्रभावित
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी तथा अतिभारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन्। वर्षाजन्य विपद्का घटनाबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्मको विवरणमा बाढी, पहिरो र अविरल वर्षाका कारण उक्त मानवीय तथा भौतिक क्षति भएको हो।

प्राधिकरणका अनुसार चार दिनको अवधिमा ४२६ वटा विपद्का घटना भएका छन्। तीमध्ये पहिरोका २५६, अविरल वर्षाका ११७ र बाढीका ५३ घटना छन्।

पहिरोमा मात्रै १४ जनाको मृत्यु, पाँच जना बेपत्ता र चार जना घाइते भएका छन्। पहिरोका कारण १४७ परिवार प्रभावित भएका छन् भने १९ घर पूर्ण र १२ घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, बाढीका घटनामा चार जनाको मृत्यु भएको छ। बाढीबाट ३५० परिवार प्रभावित भएका छन् भने १०१ घर पूर्ण र दुई घरमा आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ।

अविरल वर्षाका कारण तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्। वर्षाबाट २५० परिवार प्रभावित भएका छन् भने २३ घर पूर्ण र ३७ घरमा आंशिक क्षति पुगेको छ।

करिब दुई हजार नागरिक सुरक्षित स्थानमा सारिए
वर्षाजन्य विपद्का कारण जोखिममा परेका विभिन्न जिल्लाका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका नागरिकका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ।

जाजरकोट, म्याग्दी, बागलुङलगायतका जिल्लामा बाढी तथा पहिरोमा फसेका नागरिकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

भारी वर्षाको पूर्वानुमानपछि प्राधिकरणले ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो। जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमन रोक्नसमेत निर्देशन दिइएको थियो।

सम्भावित प्रभावित जिल्लाका विद्यालयमा बिदा दिन जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहलाई आग्रह गरिएको थियो।

७६ घण्टा लगातार निगरानी
भारी वर्षा सुरु भएपछि प्राधिकरणको ‘सिचुएसन रुम’बाट ७६ घण्टा लगातार मौसमको अवस्था अनुगमन, सञ्चार तथा समन्वय गरिएको थियो। असोज ८ गते बिहान ९ बजेदेखि असोज ११ गते दिउँसो १ बजेसम्मको अवधिमा उद्धार तथा प्रतिकार्यमा खटिने जनशक्तिसहितलाई पाँच हजारभन्दा बढी एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ।

यसै अवधिमा जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी प्रभावित क्षेत्रका नागरिकलाई सचेत गराउन ८ लाख १४ हजार एसएमएस पठाएको थियो।

नौ हजार पर्यटक तथा पदयात्री यात्रामा
वर्षाको जोखिमलाई ध्यानमा राख्दै हिमाल आरोहण तथा उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकलाई समेत लक्षित गरी अंग्रेजी भाषामा सावधानी सूचना जारी गरिएको थियो। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा आउन र सुरक्षित स्थानमा रहेका पर्यटकलाई मौसममा सुधार नआएसम्म त्यही स्थानमा रहन आग्रह गरिएको थियो।

प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर करिब नौ हजार पर्यटक तथा पदयात्री यात्रामा थिए।

डेढगाउँमा ५४४.२ मिलिमिटर वर्षा
लगातार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।

सबैभन्दा बढी वर्षा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर मापन भएको छ। त्यसपछि कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अरौलीटारमा ४७२ मिलिमिटर वर्षा भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भएको हो। प्रारम्भिक मौसम पूर्वानुमानसँगै असोज ५ गतेदेखि नै उच्च सतर्कता अपनाउन आग्रह गर्दै तयारी तथा प्रतिकार्यका लागि आवश्यक समन्वय अघि बढाइएको थियो।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update