पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा घर पुरिएर तीन जना बेपत्ता भएका छन्।
आज बिहान करिब ४ः३० बजे माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खसेको थियो। पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरिँदा घरभित्र रहेका तीन जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन्।
घटना लगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। पहिरोका कारण घर पूर्णरूपमा पुरिएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य अघि बढाइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

