पर्वत - पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्। नदीको बहाव निरन्तर बढेपछि बस्तीका अन्य घरसमेत जोखिममा परेका छन्।
आज बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर फर्से बस्तीमा पसेको हो। नदीको बाढीले बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढीका कारण अन्य घरहरू पनि जोखिममा परेका छन्। जोखिम बढेपछि बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म मानवीय क्षति भने भएको छैन।
बाढी र पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। फर्से प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनास्थलमा प्रहरी टोली पुग्न नसकेकाले भौतिक क्षतिको थप विवरण संकलन हुन सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

