Harsamaya
पक्राउपछि भरत दाहालको प्रतिक्रिया : ‘यो मनपरी गिरफ्तारीले देशका पक्षमा लड्ने हौसला दस गुणा बढायो’
राजनीतिक विश्लेषक भरत दाहाल ।

काठमाडौं - राजनीतिक विश्लेषक भरत दाहालले आफूलाई मोरङबाट पक्राउ गरी पाँच दिन हिरासतमा राखिएको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।

दाहालले सामाजिक सञ्जालमार्फत आफूलाई असोज ४ गते ‘बालेन–सुदन सत्ताले राजनीतिक प्रतिशोधस्वरूप’ बिना ठोस कारण गैरकानुनी रूपमा गिरफ्तार गरेको दाबी गरेका छन्। उक्त कदमविरुद्ध आवाज उठाउने सञ्चारमाध्यम, राजनीतिक नेता, विश्लेषक, वरिष्ठ अधिवक्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन्।

उनले आफूविरुद्धको गिरफ्तारीका सम्बन्धमा परमादेश जारी गरी साधारण तारेखमा रिहा गर्न आदेश दिने न्यायाधीशहरूप्रति पनि धन्यवाद दिएका छन्। हिरासतमा रहँदा मित्रवत् व्यवहार गर्ने प्रहरीप्रति समेत उनले आभार प्रकट गरेका छन्।

दाहालले आफूलाई गरिएको गिरफ्तारीले देशका पक्षमा लड्ने आफ्नो हौसला अझ बढाएको बताएका छन्।

‘यो मनपरी गिरफ्तारीले देशका पक्षमा लड्ने मेरो हौसलालाई दस गुणा बढाएको छ,’ उनले लेखेका छन्।

उनले आफ्नो गिरफ्तारीविरुद्ध उठेको आवाजलाई पछिल्लो एक वर्षमा ‘विदेशी नाङ्गो नाच’ विरुद्धको ध्रुवीकरण अघि बढेको सङ्केतका रूपमा व्याख्या गरेका छन्। अब उक्त ध्रुवीकरणलाई ठोस रूप दिने समय आएको उनको भनाइ छ।

दाहालले एक वर्षअघि भएको ‘विध्वंस’ पछाडि लुकेको रणनीतिलाई समयमै बुझ्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update