Harsamaya
 पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको जोखिम
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशका अधिकांश भूभागमा आज बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईभूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने महाशाखाले जनाएको छ। मधेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

राति मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईभूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update