Harsamaya

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन् । उनले बजारमा रायोसाग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु करिब ५०० रुपैयाँ तथा खसी–बोकाको मासु १ हजार ७०० रुपैयाँभन्दा बढी पुगेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘ आज तरकारी किन्न जाँदा रायोसाग प्रतिकेजी २७० पुगेछ। चिनी प्रतिकेजी १७०, आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ ।’

मूल्यवृद्धिबारे प्रश्न गर्दा सरकार र सरकार निकट व्यक्तिबाट विगत ३५ वर्षमा के गरियो भन्ने जवाफ आउने गरेको भन्दै उनले पछिल्लो समय मध्यपूर्वको युद्ध तथा सडक अवरोधजस्ता बाह्य कारण देखाएर सरकार पन्छिन नमिल्ने बताइन् ।

ग्यासको अभावसमेत कायमै रहेको उल्लेख गर्दै शर्माले दशैं, तिहार र छठजस्ता चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्य थप बढिरहेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले कालोबजारी तथा मूल्य नियन्त्रणका लागि जिम्मेवार राज्यका संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै उपभोक्तालाई सहज रूपमा आवश्यक वस्तु उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकारनिकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, ३५ वर्ष के गर्यौं ? अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारको हो र भनिन्छ । ग्यासको हाहाकार त यथावत् नै छ । दसैं, तिहार र छठजस्ता चाडपर्वको मुखमा मूल्य निरन्तर उकालो लागेको छ । कालोबजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन् ? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नुपर्दैन र ?’

त्यस्तै, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षा तथा बाढीपहिरोको जोखिम रहेको जनाएको अवस्थामा विपद् व्यवस्थापनका लागि सरकारले गरेको पूर्वतयारीबारे पनि उनले प्रश्न उठाइन् । आगामी दिनमा जनताले भोटेकोशीमा जस्तै विपद्को अवस्था भोग्न नपरोस् भन्दै उनले सरकारलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिन् । 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update