Harsamaya
आजदेखि तीन दिन भारी वर्षाको सम्भावना: गण्डकी र लुम्बिनीमा अति भारी वर्षा हुने, २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज असोज ७ गते दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्नेछ।

राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, बागमतीको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनीका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ८ गते बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षा हुनसक्नेछ।

बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

असोज ९ गते शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनीका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

तीन दिनको अवधिमा मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। 

यस्तै आज देशका २९ जिल्लामा साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।

विभागका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन र नवलपरासी पूर्व तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्नेछ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update