Harsamaya

काठमाडौं - संस्कृतिविद् डा. गोविन्द टण्डनले हरितालिका तीजलाई केवल धार्मिक पर्वका रूपमा सीमित नगरी नेपाली महिलाको पीडा, प्रतिरोध र सामाजिक अभिव्यक्तिको ऐतिहासिक माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन् । पछिल्ला वर्षहरूमा तीजको मौलिक स्वरूप बजारमुखी र भड्किलो बन्दै गएको भन्दै उनले यसको सांस्कृतिक मर्म जोगाउन सचेत प्रयास आवश्यक रहेको बताएका हुन् ।

हर समयसँगको कुराकानीमा डा. टण्डनले तीजका गीतहरू विगतमा महिलाले समाजले आफूहरूमाथि गरेका विभेद, बेवास्ता र शोषणका अनुभव खुला रूपमा व्यक्त गर्ने माध्यम रहेको स्मरण गरे ।

‘एक समय तीजका गीत सुनेर समाजमा महिलाको वास्तविक अवस्था बुझ्न सकिन्थ्यो,‘ उनले भने, ‘अहिले त्यो आत्मीयता र स्वतःस्फूर्त अभिव्यक्ति क्रमशः कम हुँदै गएको छ ।’

उनका अनुसार अहिले तीजका गीतहरू धेरैजसो रेकर्ड गरिएको संगीत र बजारको प्रतिस्पर्धामा सीमित हुन थालेका छन् । पहिले गाउँघरमा महिलाहरू भेला भएर तत्कालै दोहोरी गाउने, व्यङ्ग्य गर्ने, प्रश्नोत्तर गर्ने र आशुकवितामार्फत आफ्नो भावना व्यक्त गर्ने परम्परा विस्तारै हराउँदै गएको उनको भनाइ छ ।

टण्डनले विशेष गरी पशुपति क्षेत्रको पुरानो तीज संस्कृति अहिले निकै फेरिएको बताए । उनका अनुसार विगतमा बनकाली र मृगस्थलीका जंगल तीजका दोहोरी गीतले गुञ्जिन्थे । ती स्थानमा गीत सुन्न हजारौं मानिस भेला हुने गर्थे । ‘त्यतिबेला तत्काल प्रत्युत्तर दिने, लय मिलाउने र व्यङ्ग्य मिसाएर गाउने सीप भएको पुस्ता थियो,‘ उनले भने,‘अहिले मोबाइलमै गीत हेर्ने चलन बढेकाले त्यस्तो प्रत्यक्ष सांस्कृतिक अभ्यास घट्दै गएको छ ।’

उनका अनुसार आशुकविताको त्यो परम्परा कमजोर बन्दै जानु नयाँ पुस्ताको सांस्कृतिक आकर्षण परिवर्तनको संकेत पनि हो । टण्डनले तीज अहिले कुनै एक जाति वा समुदायमा सीमित नरहेको बताए । विश्वभर नेपाली बसोबास गर्ने ठाउँमा तीज मनाइने भएकाले यसले नेपाली पहिचानको साझा पर्वको रूप लिइसकेको उनको भनाइ छ ।

उनले विशेषगरी नेवार समुदायको उदाहरण दिँदै विगतमा धार्मिक कारणले तीज मनाउने चलन सीमित भएपनि अहिले नयाँ पुस्ताले यसलाई उत्सवका रूपमा अपनाउन थालेको बताए । ‘रातो पहिरन, चुरा, पोते, नाचगान र सामूहिक उत्सवको आकर्षणले सबै समुदायमा यसको विस्तार भएको छ,‘ उनले भने ।

विदेशमा त झन् जातीय सीमाभन्दा माथि उठेर नेपालीपनको प्रतीकका रूपमा तीज मनाउने चलन बलियो भएको उनको धारणा छ । टण्डनका अनुसार सामाजिक सञ्जालले तीज मनाउने शैलीमा ठूलो परिवर्तन ल्याएको छ । पहिले सामूहिक जमघटनै मुख्य माध्यम भए पनि अहिले फेसबुक, इन्स्टाग्राम र अन्य डिजिटल प्लेटफर्ममार्फत पनि मानिसहरूले आफ्नो सहभागिता देखाउने गरेका छन् । यद्यपि उनले यसले परम्परागत सामूहिक सांस्कृतिक अभ्यासलाई केही हदसम्म कमजोर बनाएको संकेत गरे ।

तीजमा भड्किलोपन बढ्न दिनुहुँदैन
टण्डनले तीजमा बढ्दो खर्चिलोपन र प्रदर्शनमुखी प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार संस्कृति सबैको पहुँचभित्र रहने गरी संरक्षण गर्नुपर्छ, प्रतिस्पर्धात्मक प्रदर्शनको माध्यम बनाउनु हुँदैन ।

‘सबैले गर्न नसक्ने भड्किलोपन बढे अर्को समुदाय वा आर्थिक रूपमा कमजोर मानिसमा हीनताबोध र वितृष्णा उत्पन्न हुनसक्छ,‘उनले भने । उनले केही वर्षअघि तीज आउनुभन्दा महिनौँअघि पार्टी प्यालेसमा हुने दर कार्यक्रमको अत्यधिक व्यावसायीकरण बढेको स्मरण गर्दै त्यसबारे सञ्चार माध्यम, संस्कृतिविद् र राज्यले सचेत गराएपछि केही सुधार देखिएको बताए । तर यस्तो प्रवृत्ति फेरि बढ्न नदिन निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Dr.-Govinda-Tandan-1789358603.jpg
संस्कृतिविद् डा. गोविन्द टण्डन ।

संस्कृति नै नेपालको पहिचान
डा. टण्डनले तीज नेपालको सांस्कृतिक पहिचान विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । पशुपतिनाथ क्षेत्रमा तीजका अवसरमा रातो पहिरनमा सजिएका महिलाको दृश्य खिच्न विदेशी फोटोग्राफर, लेखक र वृत्तचित्र निर्माता आउने गरेको उल्लेख गर्दै उनले त्यसले नेपालको सांस्कृतिक आकर्षण बढाएको बताए ।

‘तीज केवल पूजा होइन, यो नेपालको जीवनशैली, रंग, सौन्दर्य र सामाजिक सम्बन्धको प्रतिबिम्ब पनि हो,‘ उनले भने । उनका अनुसार संस्कृतिको संरक्षण भनेको त्यसको मौलिकता जोगाउनु हो । त्यसका लागि विकृति हटाउँदै परम्परालाई समयअनुकूल ढंगले अगाडि बढाउनुपर्ने उनले जोड दिए । ‘आफ्नो क्षमता र गच्छेअनुसार, भड्किलोपनबाट टाढा रहेर संस्कृतिलाई संरक्षण गर्ने भावनाका साथ तीज मनाउन सकियो भने त्यसले नेपाली समाज र नेपालको पहिचान दुवैलाई बलियो बनाउनेछ,‘ टण्डनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update