ताप्लेजुङ - ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमाली प्राकृतिक सौन्दर्यको खानी हो । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो पोखरी वरिपरि हरेक वर्ष विभिन्न प्रजातिका फूलहरू फुल्ने गर्छन्, जसले यस क्षेत्रलाई झन् मनमोहक बनाउँछ । विशेष गरी कस्तुरी झार प्रजातिका गुलाबी रंगका फूलहरूले पोखरी वरिपरि हरियालीमा जीवन्त रंग भरेझैं देखिन्छ ।
गर्मी याममा फूल फुल्ने मौसममा पोखरी वरिपरि फैलिएका यी कस्तुरी झार प्रजातिका फूलहरूले हिमाली भूभागलाई चित्र जस्तै सुन्दर बनाइदिन्छन् । गुलाबी फूलहरूको नीलो र बैजनी रंगका अन्य फूलहरू पनि फुल्ने भएकाले दृश्यलाई अझ आकर्षक बनाउँछ । हिमाल, ताल र रंगीन फूलहरूको संयोजनले यो स्थानलाई फोटोग्राफी, प्राकृतिक अध्ययन तथा सौन्दर्य अवलोकन गर्न चाहनेहरूको मनपर्ने गन्तव्य बनाइदिएको छ ।
तिम्बुङ पोखरीमा धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको अनुभूति लिन आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढ्दो क्रममा छ । पोखरीसम्म पुग्दा यात्राले चुनौतीपूर्ण अनुभव दिन्छ तर वरिपरि देखिने फूलहरूको मोहक दृश्यले यात्राको थकान हराउँछ ।
कस्तुरी झार प्रजातिका फूलहरूले तिम्बुङ पोखरीलाई मात्र होइन, समग्रमा हिमाली क्षेत्रको जैविक विविधता र प्राकृतिक सुन्दरताको परिचायक बनाइदिएका छन् । यसरी फूलहरूले भरिएको यो भूभाग पर्यटकहरूलाई प्रकृतिको काखमा शान्ति र आनन्दको अनुभूति गराउने अनुपम स्थलका रूपमा स्थापित हुँदै गएको छ । -दिलकुमार लिम्बू

