मुस्ताङ - मनाङबाट थोरङ्ला पास पार गरी मुस्ताङ पुगेका २७ वर्षीय पथप्रदर्शक लाक्चन्द्र कुलुङको उपचारका क्रममा मृत्यु भएको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का कुलुङको बुधबार राति मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सेली महिला पर्यटकलाई लिएर अन्नपूर्ण चक्रीय पदमार्गमा रहेका कुलुङ मनाङ हुँदै थोरङ्ला पास पार गरेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ पुगेका थिए।
मुक्तिनाथ पुगेपछि उनी स्थानीय एक होटलको शौचालयमा नुहाउन गएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि होटल सञ्चालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई खबर गरेका थिए।
प्रहरीका अनुसार कुलुङ शौचालयभित्र अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए।
घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

