मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङमा नेवारी संस्कृति झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ भने ललितपुरमा मुस्ताङको स्याउको प्रतीक निर्माण गरिने भएको छ । फरक भूगोल, फरक सांस्कृतिक पहिचान र मौलिक विशेषता बोकेका यी दुई जिल्लाले एकअर्काको पहिचानलाई सम्मान गर्दै सांस्कृतिक आदानप्रदानको पहल थालेका छन् ।
ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई सांस्कृतिक सम्पदामार्फत थप सुदृढ बनाउने उद्देश्यले यस्तो पहल गरिएको हो । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा घरपझोङ गाउँपालिकाको प्रशासनिक भवन परिसरमा नेवारी वास्तुकला झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ । यता, घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा मुस्ताङको पहिचानसँग जोडिएको स्याउको प्रतीक निर्माण गर्ने तयारी गरेको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार फल्चा निर्माणका लागि ललितपुर महानगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा पनि महानगरपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि थप ३५ लाख रुपैयाँ सहयोग गरेको उनले बताए ।
दुई स्थानीय तहबीचको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराखी सांस्कृतिक पहिचान र सम्पदाको संरक्षणसँग जोड्ने उद्देश्यले सहकार्य भइरहेको अध्यक्ष लालचनले बताए । ललितपुरमा निर्माण गरिने स्याउको प्रतीकले मुस्ताङको स्थानीय उत्पादन र पहिचानलाई उपत्यकासम्म चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा थकाली, गुरुङ तथा दलित समुदायको बसोबास छ । यस्तो क्षेत्रमा नेवारी वास्तुकला झल्किने फल्चा निर्माण हुनुले फरक समुदाय र भौगोलिक क्षेत्रबीच सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गरेको छ ।
फल्चा नेवारी वास्तुकला, काष्ठकला र परम्परागत निर्माण सीपसँग जोडिएको सार्वजनिक संरचना हो । परम्परागत रूपमा विश्राम गर्ने, भेटघाट गर्ने र सामुदायिक गतिविधि सञ्चालन गर्ने स्थलका रूपमा यसको महत्त्व रहँदै आएको छ । जोमसोममा यस्तो संरचना निर्माण हुनुले नेवारी कला र वास्तुकलालाई हिमाली क्षेत्रमा चिनाउने अवसर दिएको छ ।
नेपालमा नेवार र थकाली समुदाय परम्परागत रूपमा व्यापार व्यवसायमा सक्रिय समुदायका रूपमा परिचित छन् । दुवै समुदायका आ–आफ्नै भाषा, संस्कृति, परम्परा र सामाजिक अभ्यास छन् । सांस्कृतिक विशेषता फरक भए पनि आपसी सहकार्यले एकअर्काको पहिचानलाई चिनाउने र सम्मान गर्ने अवसर प्रदान गरेको छ ।
घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकामा निर्माण गर्न लागेको स्याउको प्रतीकले मुस्ताङको कृषि उत्पादन र स्थानीय पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । मुस्ताङ स्याउ उत्पादनका लागि परिचित जिल्ला हो । स्याउको प्रतीकमार्फत मुस्ताङको पहिचानलाई ललितपुरमा स्थापित गर्ने योजना अघि बढाइएको अध्यक्ष लालचनले बताए ।
ललितपुरमा नेवारी कला र वास्तुकलाको ऐतिहासिक पहिचान छ भने मुस्ताङको आफ्नै हिमाली संस्कृति, प्राकृतिक विशेषता र कृषि उत्पादनसँग जोडिएको पहिचान छ । दुई स्थानीय तहले एकअर्काका सांस्कृतिक तथा स्थानीय प्रतीकलाई आ–आफ्नो क्षेत्रमा स्थापित गर्न खोज्नुले भगिनी सम्बन्धलाई व्यवहारमा उतार्ने प्रयास देखाएको छ ।
यस पहलले स्थानीय तहबीचको सहकार्यलाई सांस्कृतिक सम्पदाको संरक्षण, स्थानीय पहिचानको प्रवद्र्धन र आपसी सम्बन्ध विस्तारसँग जोडेको छ । जोमसोममा बनेको नेवारी फल्चा र ललितपुरमा निर्माण गरिने मुस्ताङको स्याउको प्रतीक दुई क्षेत्रबीचको सांस्कृतिक आदानप्रदानका प्रतिनिधि बन्ने अपेक्षा गरिएको छ । - निरोज थकाली/सरिता थकाली

