गुल्मी - गुल्मीको मदाने गाउँपालिकामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।
मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार एक जना र पाँच जना पैदलयात्री गरी सात जना घाइते भएका छन्। मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानी बस्ने लेखबहादुर सुनारका छोरा अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। मोटरसाइकलको पछाडि सोही स्थानका अन्दाजी २० वर्षीय माधव सुनार सवार थिए।
घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकल पुर्कोटदह, गुल्मीमा लगिएको छ। घाइतेमध्ये कमला बि.क. र एक वर्षीया सबिना बि.क. उपचारपछि डिस्चार्ज भएका छन्। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक खुमबहादुर सुनारको उपचार भइरहेको छ।
घाइते पैदलयात्रीमा मदाने गाउँपालिका–२ पञ्चपोखरीकी २६ वर्षीया लक्ष्मी बि.क., मदाने–२ बाझकटेरी नेटा बस्ने ३५ वर्षीया कबिता भुसाल, उनकी ९ वर्षीया छोरी अर्चना भुसाल, सोही स्थानकी ४० वर्षीया कमला बि.क. र एक वर्षीया सबिना बि.क. रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

