परासी - पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ४ः३५ बजे सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा भारतबाट अवैध रूपमा ल्याई लु.३ च २९३९ नम्बरको गाडीमा लोड गरिएको अवस्थामा विभिन्न मोबाइल पार्ट्स फेला परेको हो।
इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षकसहित खटिएको टोली र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट भुजहवाबाट खटिएको संयुक्त टोलीले सामानसहित गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद सामानमा सेतो रङका १ हजार ७५५ थान एयरपड्स, कालो रङका ५३९ थान एयरपड्स, ३९ हजार ८०० थान कालो टेम्पर ग्लास, ४ हजार ५०० थान सेतो टेम्पर ग्लास, ९३० थान मोबाइल कभर र एक बोरा प्लास्टिक रहेका छन्।
बरामद सामान तथा पिकअप गाडीको समेत गरी कुल अनुमानित मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको गाडी र बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको प्रहरीले जनाएको छ।

