Harsamaya
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 
कुश ।

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्‍याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् । धार्मिक मान्यताअनुसार ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेका थिए ।

कुशलाई सनातन संस्कारमा पवित्र वनस्पतिका रूपमा प्रयोग गर्ने परम्परा छ। धार्मिक अनुष्ठान, श्राद्ध, तर्पणलगायतका कर्ममा कुशको प्रयोग गरिन्छ । कुशबाट बनेको औँठी अर्थात् पवित्री धारण गर्ने प्रचलनसमेत छ ।

कुशे औँसीलाई बुवाको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ । यस दिन छोराछोरीले आफ्ना बुवालाई मिठाइ, फलफूल, भोजन तथा कपडा उपहार दिएर सम्मान गर्ने गर्छन् । टाढा वा विदेशमा रहेका छोराछोरीले फोन तथा अन्य माध्यमबाट बुवासँग कुराकानी गरी सम्मान प्रकट गर्ने गर्छन् । 

भौतिक रूपमा बुवा नरहेकाहरूले भने विभिन्न धार्मिक तथा पवित्र तीर्थस्थलमा पुगेर दिवङ्गत बुवाको नाममा श्राद्ध, तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ । काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको वराहक्षेत्रलगायतका तीर्थस्थलमा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्ने गरिन्छ ।

विशेषगरी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्छ । दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको यहाँ घुइँचो लाग्छ। गोकर्णेश्वरलाई उत्तरगयाका रूपमा समेत चिनिने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update