सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि सिन्धुपाल्चोकका १७ निजी तथा आवासीय विद्यालयले १० लाख ४८ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले बाढीपीडितका लागि संकलन गरेको उक्त रकम केन्द्रीय कार्यालयको खातामा पठाएको जनाएको छ।
सहयोग गर्ने विद्यालयहरूमा केतु इङ्लिस बोर्डिङ स्कुल, प्रगति अंग्रेजी माध्यमिक विद्यालय, जुगल बोर्डिङ हाई स्कुल, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल, चण्डेश्वरी इङ्लिस बोर्डिङ स्कुल, मेलम्ची कम्युनिटी इङ्लिस सेकेन्डरी स्कुल, सदाबहार एकेडेमी, नवप्रभात भ्याली स्कुल, प्राइभेट प्याराडाइज सेकेन्डरी स्कुल, किङ्टोन पब्लिक स्कुल, माउन्ट एभरेस्ट बोर्डिङ स्कुल, न्युटन बोर्डिङ स्कुल, सुनकोशी बोर्डिङ स्कुल, सनराइज बोर्डिङ स्कुल, ब्रह्मायणी बोर्डिङ स्कुल, आदर्श ज्योति इङ्लिस स्कुल र कोडा मेटामोर्फिक एकेडेमी रहेका छन्।
विद्यालयहरूले आफ्नो क्षमताअनुसार २० हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म सहयोग गरेका छन्। सबैभन्दा बढी केतु इङ्लिस बोर्डिङ स्कुलले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।
प्याब्सन सिन्धुपाल्चोकले विपद्का बेला प्रभावित नागरिकको सहयोगमा निजी विद्यालय क्षेत्रबाट समेत हातेमालो गर्ने उद्देश्यले रकम संकलन गरिएको जनाएको छ। संकलित रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ।

