Harsamaya
पानी सडकमा खसालेको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रौतहट - भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पताही थाना क्षेत्रमा सडकमा पानी खसालेको विषयमा दुई पक्षबीच भएको विवादले हिंसात्मक रूप लिँदा दुईजनाको मृत्यु भएको छ।

पताही थाना क्षेत्रअन्तर्गत जिहुली गाउँमा सडकमा पानी खसालेको विषयमा दुई पक्षबीच विवादपछि कुटपिट भएको थियो। कुटपिटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि पताही थाना प्रहरीले तत्काल कारबाही अघि बढाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा जिहुली गाउँका सञ्जय सिंह, नागनारायण सिंह र लक्ष्मीनारायण सिंहलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा सञ्जयसिंह सियाराम सिंहका छोरा, नागनारायण सिंह सीताराम सिंहका छोरा र लक्ष्मीनारायण सिंह स्वर्गीय लगन सिंहका छोरा रहेको प्रहरीले जनाएको छ।

घटनापछि गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अनुमण्डल प्रहरी पदाधिकारी (एसडीपीओ) ले राति घटनास्थलको निरीक्षण गरेका छन्। 

मोतिहारीका प्रहरी अधीक्षक एसपी स्वर्ण प्रभातको निर्देशनमा पताही थाना प्रहरीले घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update