Harsamaya
भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ७०३ नेपालीलाई तातोपानी नाकाबाट फर्काइयो
तातोपानी नाका हुँदै फर्किएका नेपाली ।

सिन्धुपाल्चोक - रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मित्रराष्ट्र चीनतर्फ फसेका ७०३ नेपाली नागरिकलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल फर्काइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको विवरणअनुसार भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा उनीहरूलाई आवश्यक सहजीकरण गरी काठमाडौँसम्म पठाइएको हो।

विवरणअनुसार भदौ १८ गते भोटेकोशी गाउँपालिकाको सहजीकरणमा ११४ जना, भदौ १९ गते उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको समन्वयमा १५५ जना, भदौ २० गते बाह्रबिसे नगरपालिकाबाट ९७ जना, भदौ २१ गते सुनकोशी गाउँपालिकाबाट १०५ जना, भदौ २२ गते बाह्रबिसे नगरपालिकाबाट १०६ जना, भदौ २३ गते उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकबाट ९४ जना र भदौ २४ गते चौतारा साँगाचोकगढी नगरपालिकाको सहजीकरणमा ३३ जना नेपाल फर्किएका छन्।

फर्काइएका ७०३ जनामध्ये २०५ जना महिला र ४९८ जना पुरुष रहेका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूको आवागमनमा आवश्यक समन्वय तथा सहजीकरण गरी काठमाडौँसम्म पुर्‍याइएको जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चीनको केरुङलगायतका क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका थिए। उनीहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि तातोपानी नाकासहित विभिन्न माध्यमबाट सहजीकरण भइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update