मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रहरीको आग्रह
गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि नेपाल प्रहरीले मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ३ः३० बजे थेराङखोलामा आएको बाढीले चुमनुब्री गाउँपालिका–२ र ४ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको हो।
पुल बगाएपछि मनास्लु तथा लार्केपास क्षेत्रमा आवतजावत प्रभावित भएकाले यात्राको तयारीमा रहेका तथा हाल पदयात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा स्थगित गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले पदयात्रीको सुरक्षा तथा आपत्कालीन समन्वयका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ १५:४४
प्रतिक्रिया दिनुहोस्

