Harsamaya
महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा ३० वर्षीय सालिन साह पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौँ महानगरपालिका–२६ ठमेलमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ १६ गते राति करिब ८ बजे सार्वजनिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीलाई सेतो टिसर्ट र कालो पाइन्ट लगाएका दाह्री–कपाल पालेका अपरिचित व्यक्तिले अस्वाभाविक तरिकाले छोई अभद्र व्यवहार गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत अनुसन्धान भइरहेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले भदौ २० गते सलाहीको कबिलासी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० वर्षीय सालिन साहलाई ठमेलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त, लैनचौरमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update