Harsamaya
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा, बाढीले बगाएको सीमा नाका फेरि फर्काउने प्रयास
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा ।

काठमाडौं - रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा बाढीले बगाएको राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित अन्तर्राष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले नेपालको राष्ट्रिय झण्डा राखेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो। बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको राष्ट्रिय झण्डासमेत हटेको थियो।

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट खटिएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गर्दै सीमा नाकामा पुगेर राष्ट्रिय झण्डा पुनःस्थापना गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले सीमा क्षेत्रमा भौतिक संरचना बगाए पनि राष्ट्रिय झण्डा पुनःस्थापनाले सीमाको उपस्थिति र राष्ट्रियताको प्रतीकलाई पुनः उभ्याएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update