Harsamaya
एसिड आक्रमणको सात वर्ष : मुस्कानको सन्देश– ‘मेरो विगत होइन, मेरो साहस नै मेरो पहिचान’
मुस्कान खातुन ।

रौतहट -  सात वर्षअघि आजकै दिन एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनले त्यो पीडादायी घटनालाई सम्झँदै आफू विगतमा रोकिएर नबसेको सन्देश दिएकी छन्।

भदौ २० गते सामाजिक सञ्जालमार्फत आफ्नो संघर्षबारे लेख्दै मुस्कानले एसिड आक्रमणको पीडा जीवनभर नमेटिने भए पनि त्यसलाई कमजोरी बन्न नदिएको बताएकी छन्।

आक्रमणपछि उपचार, शारीरिक पीडा, सामाजिक व्यवहार र मानसिक संघर्षको लामो यात्रा पार गरेकी उनले समयसँगै पीडालाई आफ्नो शक्तिमा बदल्दै अघि बढेको उल्लेख गरेकी छन्।

‘जीवनमा हामीले चाहेका हरेक कुरा र मानिस सधैँ साथमा रहँदैनन्,’ उनले लेखेकी छन्, ‘केही घटना र पीडा जीवनको हिस्सा बनेर आउँछन्। तर हिम्मत र आँटका साथ जीवनलाई फेरि सुन्दर बनाउन सकिन्छ।’

सात वर्षपछि त्यही दिनलाई फर्केर हेर्दा आफू कमजोर नभई अझ बलियो भएको महसुस हुने उनको भनाइ छ। ‘मेरो विगत मेरो पहिचान होइन; मेरो संघर्ष, मेरो साहस र मेरो यात्रा नै मेरो पहिचान हो,’ उनले भनेकी छन्।

एसिड आक्रमणको घटनाले दिएको घाउ बोकेर पनि आफू निरन्तर अघि बढिरहेको बताउँदै मुस्कानले लेखेकी छन्, ‘म रोकिएकी छैन, म अझै अघि बढिरहेकी छु।’

उनको यो अभिव्यक्ति एसिड आक्रमण तथा अन्य हिंसाबाट प्रभावित व्यक्तिलाई पीडामै सीमित नभई आत्मविश्वासका साथ नयाँ जीवनतर्फ अघि बढ्न प्रेरित गर्ने सन्देशका रूपमा आएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update