कैलालीमा कटुवा पेस्तोल र एक किलो चरेश बरामद
कैलाली - कैलालीको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र करिब एक किलो चरेश बरामद गरेको छ।
भदौ १९ गते बोर्डर आउट पोष्ट भुईयाफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले उक्त हतियार र लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार बाटो छेउको झाडीबाट मानिस बोलेको आवाज सुनेपछि टोलीले टर्च बालेर हेर्दा केही व्यक्ति फरार भएका थिए। त्यसपछि झाडीमा खानतलासी गर्दा कालो प्लास्टिकले बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल र अन्दाजी एक किलो चरेश फेला परेको हो।
बरामद पेस्तोल र चरेश आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३ १७:१०
प्रतिक्रिया दिनुहोस्

