Harsamaya
पेप्सीकोलामा आगलागी, १० पसल र ३ घरमा क्षति
आगलागी ।

काठमाडौं - काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला प्लानिङमा गएराति आगलागी हुँदा १० वटा पसल तथा तीन वटा पक्की घरमा क्षति पुगेको छ। आगलागीबाट ६ वटाभन्दा बढी घर तथा टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगलागीको सूचना प्राप्त भएलगत्तै काठमाडौँ महानगरपालिकाको जुद्ध वारुणयन्त्र कार्यालयबाट कार्यालय प्रमुख महानगर प्रहरी नायब उपरीक्षक लीलाराज गच्छाको नेतृत्वमा तीनवटा दमकल, ३० जना अग्नि नियन्त्रक र दुईवटा पानी ट्याङ्करसहितको टोली घटनास्थल पुगेको थियो।

आगलागी नियन्त्रणका लागि नेपाली सेना तथा छिमेकी स्थानीय तहका दमकलसमेत परिचालन गरिएको थियो। आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको बताइएको छ।

आगलागीबाट काठमाडौं क्याफे, बाम्बु कटेज, तरकारी पसल, सेकुवा क्याफे, खाद्यान्न पसललगायतका पसल तथा घरमा क्षति पुगेको छ। महानगरको अग्नि नियन्त्रक टोली र सम्बन्धित निकायको समन्वयमा आगलागी नियन्त्रणमा लिइएको हो।

आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update