Harsamaya
बाढीले ३५ पुलमा क्षति, ३१ वटा पूर्ण रूपमा बगायो
त्रिशुली पुल ।

काठमाडौं - भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। तीमध्ये ३१ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको र चारवटा पुल क्षतिग्रस्त अवस्थामा रहेको विवरणमा उल्लेख छ।

उपलब्ध विवरणअनुसार रसुवामा मात्रै १३ वटा पुल बाढीले बगाएको छ। नुवाकोटमा १४ वटा पुल बगेका छन् भने एउटा पुल क्षतिग्रस्त अवस्थामा छ। धादिङमा चार वटा पुल बगेका तथा तीन वटा क्षतिग्रस्त भएका छन्।

रसुवामा १३ पुल बगे
रसुवागढीस्थित मितेरी पुलदेखि तलतर्फ क्रमशः घाट्टे खोला, फेनलुङ, कुलुङ, चिलिमे खोला पुल, स्याफ्रुबेँसी पुल, हाकुखोला, बिमली खोला, क्रसिङ ०+७००, त्रिशूली पुल (मैलुङ–चिलिपेटी), त्रिशूली–३ ए ड्याम–३, त्रिशूली–३ ए ड्याम–२ र बाहुबली झरना पुल बाढीले बगाएको विवरण छ।

यी पुलमध्ये मितेरी पुलको लम्बाइ ४० मिटर, घाट्टे खोलाको ३० मिटर, फेनलुङको २० मिटर, कुलुङको ७५ मिटर, चिलिमे पुलको ८६ मिटर, स्याफ्रुबेँसीको ३५ मिटर, हाकुखोलाको ४० मिटर, बिमली खोलाको १० मिटर, त्रिशूली–मैलुङ पुलको ६० मिटर, त्रिशूली–३ ए ड्याम–३ को १५ मिटर, ड्याम–२ को ३० मिटर र बाहुबली झरना पुलको २५ मिटर रहेको छ।

नुवाकोटमा त्रिशूलीमाथिका अधिकांश पुल बगे
नुवाकोटतर्फ नयाँ पुल त्रिशूली, खाल्टेको ५० मिटर लामो पुल बगेको छ। त्यसैगरी बेत्रावती पुरानो पुल र बेत्रावती नयाँ पुल दुवै बाढीले बगाएको छ। दुवै पुलको लम्बाइ ७०–७० मिटर रहेको छ।

तुप्चे त्रिशूली नदी पुल १०० मिटर लामो थियो। उक्त पुल पनि बाढीले बगाएको छ।

त्रिशूली बजारका पुरानो र नयाँ पुल दुवै बगेका छन्। दुवैको लम्बाइ ६०–६० मिटर रहेको विवरणमा छ। सिमचौरको त्रिशूली नदी पुल १०० मिटर तथा देवीघाट नजिक मिडहिल हाइवे पुल १९० मिटर लामो थियो, ती दुवै पनि बाढीले बगाएको छ।

देवीघाटका पुरानो र नयाँ तादी खोला पुल दुवै ५५–५५ मिटर लामो थिए र दुवैमा क्षति पुगेको छ। त्यस्तै खड्गभञ्ज्याङ–श्रीखाली सडकको त्रिशूली नदी पुल १८० मिटर लामो थियो, जुन पनि बाढीले बगाएको छ।

ठूलो खोला पुल २० मिटर लामो रहेकोमा क्षतिग्रस्त अवस्थामा छ। उक्त पुल भग्नावशेषले पुरिएको हुँदा यसको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उल्लेख छ।

त्यसपछि बुद्धसिंहघाटको त्रिशूली पुल ४४० मिटर, रत्माटेको पुल १४० मिटर र केउरिनी–फोर्सेटारको त्रिशूली पुल २०० मिटर लामो थिए। तीनवटै पुल बाढीले बगाएको छ।

धादिङमा पनि पुलको ठूलो क्षति
धादिङमा कोल्पु खोला पुरानो पुल ४० मिटर लामो रहेकोमा क्षतिग्रस्त भएको छ। सोही स्थानको नयाँ कोल्पु खोला पुल पनि ४० मिटर लामो छ। बाढीले पुललाई तलतर्फ सारे पनि अझै सञ्चालनमा रहेको विवरणमा उल्लेख छ।

बैरनी–स्यालटार सडकको त्रिशूली पुल १५० मिटर लामो थियो, जुन बाढीले बगाएको छ। मस्तारको त्रिशूली पुल १४० मिटर लामो रहेकोमा क्षतिग्रस्त भएको छ।

त्यसैगरी जरेबगैँचाको त्रिशूली पुल १२० मिटर, घाटबेँसीको त्रिशूली पुल २०० मिटर र फुर्के खोलाको त्रिशूली पुल ११८ मिटर लामो थिए। यी तीनवटै पुल बाढीले बगाएको विवरणमा उल्लेख छ।

यसरी हेर्दा बाढीले रसुवा, नुवाकोट र धादिङको महत्वपूर्ण सडक सञ्जालसँग जोडिएका पुलहरूमा व्यापक क्षति पुर्‍याएको छ। पुलहरू बग्दा उत्तरी नाका, जलविद्युत् आयोजना, बस्ती तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा यातायात सञ्चालनमा गम्भीर समस्या सिर्जना भएको छ। पुल पुनर्निर्माण तथा वैकल्पिक मार्ग व्यवस्थापन तत्काल अघि बढाउनुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update