सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको भोटेकोशी नदी तटीय क्षेत्रमा बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि विपद् पूर्वसूचना प्रणाली जडान गर्ने विषयमा छलफल भएको छ।
तातोपानीदेखि दोलालघाटसम्मको भोटेकोशी नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको टोलीसँग छलफल भएको हो।
छलफलमा सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल, नेकपा नेता माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल तथा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।
तिब्बत क्षेत्रमा हिमताल फुट्न सक्ने जोखिमका घटना बढिरहेका बेला रसुवामा जस्तै विपत्ति सिन्धुपाल्चोकमा दोहोरिन नदिन लिपिङदेखि दोलालघाटसम्म पूर्वसूचना प्रणाली शीघ्र जडान गर्नुपर्नेमा जोड दिइएको छ।
भोटेकोशी, ब्रह्मायणी र इन्द्रावती नदी किनारमा बाक्लो बस्ती, विद्यालय, क्याम्पस, सरकारी कार्यालय, होटल तथा पर्यटकीय क्षेत्रसँगै अरनिको राजमार्ग, तातोपानी नाका र दर्जनौँ जलविद्युत् आयोजना रहेकाले बाढी आए ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने सहभागीहरूले बताएका छन्।
पूर्वसूचना प्रणाली जडान भएपछि नदीको बहावमा आउने असामान्य परिवर्तन तथा सम्भावित बाढीबारे समयमै जानकारी प्राप्त गरी स्थानीयलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको छ।
छलफलमा विपद् पूर्वसूचना प्रणाली जडानको काम यथाशीघ्र अघि बढाउन सम्बन्धित निकायसँग पहल गर्ने सहमति भएको जनाइएको छ। साथै, सरोकारवाला सबै पक्षलाई आवश्यक ज्ञान, प्रविधि तथा विज्ञतासहित सहकार्य गर्न अपिल गरिएको छ।

