Harsamaya
बाढीपछि उद्धार र सुरक्षाकालागि ७ हजार ९९२ प्रहरी परिचालन, ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नागरिकको खोज, उद्धार, सुरक्षा तथा राहत व्यवस्थापनका लागि सरकारले ७ हजार ९९२ प्रहरी परिचालन गरेको छ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ। विपद्सम्बन्धी कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र समेत गठन गरिएको छ।

खोज तथा उद्धारका लागि रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन, पाँचवटा तालिमप्राप्त कुकुर र सातवटा स्याटेलाइट फोन परिचालन गरिएको छ। घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ प्रहरी खटिएका छन्।

शव पहिचानका लागि डीएनए परीक्षणसहित वैज्ञानिक विधि प्रयोग गर्न फरेन्सिक विज्ञको टोली परिचालन गरिएको छ। घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।

विपद्को मौका छोप्नेविरुद्ध प्रहरीको कारबाही
बाढीपछि चोरी, लुटपाट तथा ठगी गर्नेविरुद्ध पनि प्रहरीले कारबाही अघि बढाएको छ। नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट गहना निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

त्यस्तै, धादिङको गल्छी–४ स्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जना स्थानीय पक्राउ परेका छन्। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली सामाजिक सञ्जाल पोस्ट बनाएर रकम असुल्न खोजेको आरोपमा रामेछापका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।

यसैगरी, धादिङका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका थप सेफहरू फेला परेका छन्। प्रहरीले फेला परेका सामग्री सुरक्षित राख्दै अनुसन्धान तथा व्यवस्थापनको काम गरिरहेको जनाएको छ।

चितवनको नारायणी नदी आसपास मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रभावित नागरिकलाई संयमित रहन आग्रह गर्दै उद्धार, राहत वितरण तथा सुरक्षा व्यवस्थापनको कामलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update