काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुवाहक सवारीलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालन गरिएको छ। मालवाहक सवारीलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको छ।
रसुवा जाने सवारीले टोखा–छहरे–नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ। रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्याउन हाल चारपाङ्ग्रे सवारी मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको र कच्ची सडक भएकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर आवागमन गर्न आग्रह गरिएको छ।
वैकल्पिक मार्गमा सवारी चाप बढेकाले जाम तथा दुर्घटनाको जोखिम कम गर्न प्रहरीले चालकलाई ओभरटेक नगर्न र आफ्नो पालोमा धैर्यपूर्वक सवारी चलाउन आग्रह गरेको छ।

