काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि भएको मानवीय क्षतिको संख्या ७८१ पुगेको छ भने करिब २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म विभिन्न जिल्लामा ८०९ शव तथा मानव अङ्ग फेला परेका छन्। चितवनमा मात्रै विभिन्न मानव अङ्गसहित २७२ शव, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेका छन्।
बाढीमा २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ।
९ हजार ४३५ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाको सुरुङबाट मात्रै भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली सेनाले हालसम्म हवाई उद्धारमार्फत २५४ विदेशी र ३ हजार ६७ नेपाली नागरिकको उद्धार गरेको जनाएको छ। आइतबार हाइड्रोपावरबाट १५ चिनियाँ नागरिकको समेत उद्धार गरिएको छ।
उद्धार तथा राहतका लागि सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गरिएको छ। हालसम्म २० हजार ६१८ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाली सेना ८ हजार ५२१, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी बल ४ हजार २०३ जना छन्।
विदेशी नागरिक पनि ठूलो संख्यामा सम्पर्कविहीन
बाढीपछि ५९२ विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको विवरण छ। यस्तै विदेशी पर्यटकसँगै घुम्न गएका १२७ नेपाली पनि सम्पर्कविहीन छन्।
जलविद्युत आयोजनाबाट मात्रै ९३३ जना, रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।
राहतका लागि करोडौँ निकासा
सरकारले रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत पठाएको छ। प्रभावित १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ।
प्रभावित क्षेत्रमा हाल २३ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १ हजार ५०० लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।
हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरबाट ८ उडान गरी राहत सामग्री पुर्याइएको छ।
पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्। प्राधिकरणले बेपत्ता, उपचाररत, उद्धार गरिएका तथा पहिचान नखुलेका शवसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको जनाएको छ।

