काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थलमा २ हजार २७४ जना र रसुवाका १० वटा आश्रयस्थलमा १ हजार १८० जना प्रभावितले आश्रय लिएका छन्।
नुवाकोटमा विदुर, बेलकोटगढी र किस्पाङका विभिन्न विद्यालय, कवर्ड हल, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक भवनमा प्रभावितलाई राखिएको छ। उद्धार गरिएका घाइतेको उपचारका लागि विभिन्न आश्रयस्थलमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ।
रसुवामा उत्तरगया, आमाछोदिङ्गो र गोसाइकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा आश्रयस्थल सञ्चालनमा छन्। भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको जनाइएको छ।
रसुवामा जिल्ला अस्पताल धुन्चे, स्याफ्रुबेँसी, हेलिक्षेत्रलगायत स्थानमा विभिन्न स्वास्थ्य टोली परिचालन गरी प्रभावितको उपचार भइरहेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायले थप क्षति रोक्न तथा प्रभावित क्षेत्रमा राहत, उद्धार र औषधोपचारको पहुँच सुनिश्चित गर्न उच्च सतर्कताका साथ काम गरिरहेका छन्।

