Harsamaya
चितवनमा सनाखत भएका ९ जना को को ? 

चितवन - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये २५९ जनाको शव चितवनमा फेला परेको छ। सुरक्षाकर्मीले नारायणी नदीको किनारबाट ती शव सङ्कलन गरेका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा दुई प्रहरी सहायक निरीक्षकसहित विभिन्न जिल्लाका नागरिक रहेका छन्।

सनाखत भएका दुई प्रहरी सहायक निरीक्षकमा नुवाकोटका रामकाजी पौडेल र रामेछापका रामहरि खड्का छन्।

त्यस्तै, बाँकेका कविलाल चौधरी र रमेश थारु, रसुवाका भुवन थापा मगर, मकवानपुरका रमेश मगर, नुवाकोटका अर्जुन बलामी र तेरिना गुरुङ तथा सिन्धुपाल्चोकका पेमा सिंह शेर्पाको पनि शव पहिचान भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार परिवार तथा आफन्तले शवको सनाखत गरेका हुन्।

यसैबीच, चितवनमा फेला परेका ९६ वटा शव गाडेर व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार देवघाट धामको बीच जंगलमा पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा गाडेर राखिएको छ।

चितवनमा पहिचान भएका शव :
१. प्रसनि रामकाजी पौडेल, ४३ वर्ष, नुवाकोट 
२. कविलाल चौधरी, २३ वर्ष, कोहलपुर नपा–११
३.रामहरि खड्का, असई, रामेछाप मन्थली नपा–४
४. भुवन मगर, रसुवा, उत्तरगया–१ बेत्रावती
५. रमेश मगर, मकवानपुर, हेटौँडा १५
६. अर्जुन बलामी, नुवाकोट ककनी
७. रमेश थारु, कोहलपुर–११ बाँके 
८. तेरिना गुरुङ, किस्पाङ– ५ नुवाकोट
९. पेमा सिंह शेर्पा, भोटेकोशी गापा–३ सिन्धुपाल्चोक

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update