Harsamaya
सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धादिङ - रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ (लकर) फुटाएर नगद चोरी गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ बेलखुखोलास्थित त्रिशूली नदीको किनारमा अड्किएको सेफ स्थानीयले तोडफोड गरी रकम आपसमा बाँडेका थिए।

घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले छानबिन तथा खानतलासीका क्रममा संलग्न २९ जनालाई पक्राउ गर्नुका साथै उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका-४ मासटारका पवन पौडेल, वीरबहादुर रानामगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर रानामगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सबिन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुवेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन्।

त्यस्तै गल्छी-६ आदमघाटका सुशान्त श्रेष्ठ, नारायण श्रेष्ठ, अग्नि आलेमगर, गल्छी-८ सिमपानीका सानुभाइ श्रेष्ठ, सिद्धलेक-७ आदमटारका सानु खतिवडा, चितवन राप्ती-६ घर भई आदमघाट बस्ने बिचारी आलेमगर र पर्सा बहुदरीमाई-९ घर भई आदमघाट बस्ने सकुर अन्सारी रहेका छन्।

बरामद रकमको आधिकारिक स्रोत खुलाउने प्रयास भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धादिङले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update