Harsamaya
कर्णालीमा नेकपाबाट तीन महिला मन्त्री नियुक्त
मिलन खड्का भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, कल्याणी खड्का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र जुम्कित लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शपथ लिदैं ।

सुर्खेत - कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना महिला मन्त्री नियुक्त भएका छन्। उनीहरूले आज पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

नेकपाबाट मिलन खड्का भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, कल्याणी खड्का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र जुम्कित लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका हुन् । 

प्रदेश प्रमुख यज्ञराज जोशीले तीनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

तीन मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले २९ दिनपछि पूर्णता पाएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले नेकपाको भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् पूर्ण भएको हो।

यसअघि नेकपाभित्र मन्त्री छनोटमा आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। पार्टीभित्र पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादी धारबीच समेत भागबण्डालाई लिएर छलफल भएको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update